लोकसेवा विज्ञापन रोक्ने निर्णयविरुद्ध काठमाडौंमा विद्यार्थीको प्रदर्शन
काठमाडौं — लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरूले बुधबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै स्थायी पदपूर्ति रोक्ने सरकारी निर्णय खारेज गर्न माग गरेका छन्।
प्रदर्शनकारीहरूले २०८३ साउन ४ गते मुख्य सचिवको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकको बुँदा नम्बर ११ तत्काल खारेज गर्नुपर्ने माग गरेका हुन्।
उक्त निर्णयअनुसार नयाँ संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणका कारण फाजिलमा पर्ने कर्मचारीको व्यवस्थापन नभएसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना स्थायी पदपूर्ति नगर्ने र लोकसेवा आयोगमा मागसमेत नपठाउने व्यवस्था गरिएको छ।
विद्यार्थीहरूले उक्त निर्णयले लोकसेवा तयारी गरिरहेका हजारौँ युवाको भविष्य अन्योलमा पारेको भन्दै निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन्।