विद्यालय दिवा खाजा कार्यक्रमको वार्षिक प्रतिवेदन सार्वजनिक
नेपाल सरकार र संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले विद्यालयमा राष्ट्रिय दिवा खाजा कार्यक्रमसम्बन्धी वार्षिक प्रतिवेदन–२०२५ सार्वजनिक गरेका छन्।
प्रतिवेदनमा सन् १९६७ देखि सञ्चालनमा रहेको दिवा खाजा कार्यक्रमबाट हाल ७७ जिल्लाका करिब ३० लाख विद्यार्थी लाभान्वित भइरहेको उल्लेख गरिएको छ। कार्यक्रमले विद्यालय भर्ना, विद्यार्थीको उपस्थितिदर र सिकाइ उपलब्धिमा सकारात्मक सुधार ल्याएको प्रतिवेदनले देखाएको छ।
स्थानीय किसान र सहकारीसँग विद्यालयलाई जोडेर घरेलु खाजा उपलब्ध गराउने व्यवस्थाले बालबालिकाको पोषण सुधारसँगै स्थानीय अर्थतन्त्रलाई पनि टेवा पुगेको प्रतिवेदनमा उल्लेख छ।
कार्यक्रममा सहभागी वक्ताहरूले शिक्षा, पोषण, खाद्य सुरक्षा र स्थानीय विकासलाई सँगसँगै अघि बढाउन दिवा खाजा कार्यक्रम प्रभावकारी भएको बताएका छन्।