मकवानपुरमा यात्रुवाहक बस दुर्घटना, चालकसहित ५ जना घाइते
मकवानपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएका छन्। वीरगन्जबाट लमजुङ जाँदै गरेको ना ५ ख ५३१९ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–७ रमनटारमा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बस गएराति ११ बजेर ५ मिनेटमा आफैं अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनाका बेला बसमा १६ जना यात्रु सवार रहेका थिए।
दुर्घटनामा बस चालक सर्लाहीका करिब ३९ वर्षीय भीमबहादुर विक घाइते भएका छन्। उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। अन्य घाइतेमा चितवन भरतपुर महानगरपालिका–४ का ३० वर्षीय सञ्जय तामाङ, पर्साको परवानीपुर नगरपालिका–२३ का ५४ वर्षीय मोहम्मद आजात, बाराको देवताल गाउँपालिका–१ का २३ वर्षीय राजकुमार राम र भारत मोतिहारीका ५२ वर्षीय सुदिर कुमार रहेका छन्।
घाइतेमध्ये चालक विकसहित सबैलाई मनहरी अस्पताल लगिएको थियो। प्राथमिक उपचारपछि थप उपचारका लागि उनीहरूलाई चितवन मेडिकल कलेज रेफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरी र स्थानीयवासीको सहयोगमा बसलाई सडकबाट हटाई किनारमा राखिएको थियो। हाल राजमार्गमा यातायात अवरोध नरहेको र बसका अन्य यात्रुलाई अर्को सवारीसाधनमार्फत गन्तव्यतर्फ पठाइएको मकवानपुर प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।