शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने, भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार रातिदेखि मौसमी प्रणाली थप सक्रिय हुने जनाएको छ।
मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो।
मौसमविद् बिनु महर्जनका अनुसार पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ।
शनिबारसम्म देशका पहाडी भूभागका धेरै स्थान तथा हिमाली र तराईका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा पहिरो तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।
महाशाखाले लामो दूरीको यात्रा गर्नुअघि मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा अद्यावधिक मौसमी सूचना लिन सुझाव दिएको छ।