नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनअघि स्थानीयको प्रदर्शन
काठमाडौं — नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन हुनुअघि स्थानीयले विभिन्न माग राख्दै विरोध प्रदर्शन गरेका छन्।
नागढुंगा सुरुङमार्ग पीडित संघर्ष समितिको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले सुरुङमार्गसँगै निर्माण हुनुपर्ने आकाशेपुल तत्काल बनाउनुपर्ने, सडक पेटी विस्तार गर्नुपर्ने, आयोजनाबाट प्रभावितलाई रोजगारी सुनिश्चित गर्नुपर्ने, जेब्रा क्रसिङ र ट्राफिक लाइटको व्यवस्था गर्नुपर्ने माग राखेका छन्।
उनीहरूले प्रस्तावित फ्लाइओभरको नाम ‘किसिपिँडी फ्लाइओभर’ राख्नुपर्ने मागसमेत गरेका छन्। प्रदर्शनस्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो। स्थानीयले मूल सडकमा प्रदर्शन गर्न खोजेपछि प्रहरीले उनीहरूलाई हटाएको छ।
स्थानीयले आफ्ना माग तत्काल सम्बोधन गर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका छन्। नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुँदैछ।