मनसुनजन्य विपद्का ४९ घटनामा ३ जनाको मृत्यु, १९ जना घाइते
काठमाडौं — पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४९ वटा घटना भएका छन्। ती घटनामा परी ३ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको दैनिक बुलेटिनअनुसार विपद्का घटनाबाट प्रभावित जिल्लाको संख्या ३७ पुगेको छ।
प्राधिकरणका अनुसार पछिल्लो अवधिमा पहिरोका १२, सर्पदंशका १५, आगलागीका ६, चट्याङका २, बाढीका २, वनडढेलोका ५ तथा जनावर आक्रमणका २ वटा घटना भएका छन्।
मनसुनजन्य विपद्का कारण करिब २३ करोड २२ लाख ३२ हजार रुपैयाँ बराबरको अनुमानित क्षति भएको छ। विपद्का कारण ६ वटा सडक अवरुद्ध भएका छन् भने ७ वटा चौपाया मरेका छन्।
प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्थानीय तहको समन्वयमा उद्धार तथा राहत कार्य जारी रहेको प्राधिकरणले जनाएको छ।
बुलेटिनअनुसार विभिन्न विपद्का घटनाबाट १९ जनाको उद्धार गरिएको छ भने उद्धार तथा व्यवस्थापनका लागि १ हजार ७ सय ५६ वटा सवारी साधन परिचालन गरिएको छ।
मनसुन अझै सक्रिय रहेकाले प्राधिकरणले बाढी, पहिरो, चट्याङ र सर्पदंशबाट जोगिन सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।