झापा जिल्ला अदालतले ६० प्रतिशत मुद्दा फर्स्योट, तीन हजारभन्दा बढी मुद्दा बाँकी
जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२–८३ मा कुल ७ हजार ५४९ मुद्दामध्ये ४ हजार ५३५ वटा फर्स्योट गर्दै ६०.०२ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ। अदालतले ६५ प्रतिशत मुद्दा फर्स्योट गर्ने लक्ष्य राखे पनि विभिन्न कारणले लक्ष्य पूरा गर्न नसकेको प्रमुख न्यायाधीश उमेशप्रसाद लुइँटेलले जानकारी दिए।
अदालतका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका ३ हजार २३२ र नयाँ दर्ता भएका ४ हजार ३१७ गरी कुल ७ हजार ५४९ मुद्दामध्ये हाल ३ हजार १४ वटा मुद्दाको फैसला हुन बाँकी छ। उत्कृष्ट कार्यसम्पादन गरेका न्यायाधीश पारसमणि पोखरेललाई सम्मान गरिएको छ। उनले एक वर्षमा ६२७ मुद्दाको फैसला गरेका थिए।
अदालतले सेवाप्रवाहलाई छिटो, सरल र पारदर्शी बनाउन स्वचालित पेशी प्रणाली, गोलाप्रथाबाट इजलास छनोट, अनलाइन सुनुवाइ, अनलाइन तारेख तथा मुद्दाको प्रगति वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था लागू गरेको जनाएको छ।