पुल्चोकका विद्यार्थी पहिलो पटक अन्तर्राष्ट्रिय रेसिङ कार प्रतियोगितामा, ‘टिम गोर्खाली’ भारतमा प्रतिस्पर्धा गर्दै
काठमाडौं — त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थी पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको रेसिङ कार निर्माण प्रतियोगितामा सहभागी हुने भएका छन्।
भारतमा आगामी जनवरीमा आयोजना हुने ‘फर्मुला भारत’ प्रतियोगितामा पुल्चोकका विद्यार्थीले आफैं निर्माण गरेको रेसिङ कारसहित प्रतिस्पर्धा गर्ने तयारी गरेका हुन्। प्रतियोगितामा विभिन्न देशका ८९ टोली सहभागी हुनेछन्।
नेपाली विद्यार्थीको तर्फबाट यस्तो अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो सहभागिता भएकाले कलेजले ‘टिम गोर्खाली’ गठन गरी तयारीलाई विशेष प्राथमिकता दिएको छ। टोलीलाई कलेजका प्राध्यापक तथा प्राविधिक विज्ञहरूले मार्गदर्शन गरिरहेका छन् भने कारको डिजाइनदेखि निर्माणसम्मको जिम्मेवारी विद्यार्थीहरूले सम्हालेका छन्।
टिमका सदस्य विशेश्वर आचार्यका अनुसार प्रतियोगिताका लागि आवश्यक डिजाइन समयमै तयार गरी आयोजकलाई पठाइसकिएको छ। अब नोभेम्बर १५ भित्र कार निर्माण, डिसेम्बर ७ सम्म परीक्षण र जनवरी २७ मा अन्तिम प्रस्तुति तथा प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताका लागि निर्माण गरिने रेसिङ कारको अनुमानित लागत १७ लाख ३१ हजार रुपैयाँ रहेको छ। ४ सिसी मोटर क्षमताको उक्त कार प्रतिघण्टा ८० किलोमिटरभन्दा बढी गतिमा दौडिन सक्ने गरी डिजाइन गरिएको छ।
यद्यपि, परियोजनाका लागि आवश्यक आर्थिक स्रोत अझै जुटिसकेको छैन। टिमले विभिन्न कम्पनी तथा संस्थासँग प्रायोजनका लागि छलफल गरिरहेको जनाएको छ। कलेजले शीर्ष प्रायोजकदेखि विभिन्न तहका प्रायोजन प्याकेजसमेत सार्वजनिक गरेको छ।
नेपाली इन्जिनियरिङ विद्यार्थीको नवप्रवर्तन र प्राविधिक क्षमतालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसरका रूपमा यस प्रतियोगितालाई हेरिएको छ। टोलीले सबै क्षेत्रबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ।