पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, दक्षिण बागलुङको यातायात ठप्प
बागलुङ — लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्डमा गए रातिदेखि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार जैमिनी नगरपालिका–८ बेलबगर क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। सडक बन्द भएपछि दक्षिण बागलुङको सडक सञ्जालसँगको सम्पर्क विच्छेद भएको छ भने बुटवलतर्फ आवतजावत गर्ने सवारीसाधन बेलबगर क्षेत्रमा रोकिएका छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले सडक खुलाउने प्रयास भइरहेको जानकारी दिए। उनका अनुसार पहिरो हटाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय गरी आवश्यक उपकरण परिचालन गर्ने तयारी भइरहेको छ।
सडक अवरुद्ध भएपछि यात्रु र सवारी चालकहरू समस्यामा परेका छन्। वर्षा निरन्तर भइरहेकाले थप पहिरो खस्ने जोखिमसमेत रहेको भन्दै प्रहरीले अत्यावश्यक कामबाहेक उक्त सडक प्रयोग नगर्न तथा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।