प्रहरीको गोली लागेर घाइते अर्का युवकको पनि मृत्यु, देवानगञ्ज घटनामा मृतक संख्या दुई पुग्यो
विराटनगर — सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएका अर्का युवकको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्यान गुमाउने युवाको संख्या दुई पुगेको छ।
मोरङ प्रहरीका अनुसार देवानगञ्ज–३ निवासी २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
मोरङ प्रहरीका सूचना अधिकारी तथा डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार मेहता गोली लागेर गम्भीर घाइते भएका थिए र उपचारकै क्रममा उनको निधन भएको हो।
उक्त घटनामा प्रहरीसहित २२ जना घाइते भएका थिए। घाइतेमध्ये १० जना युवालाई गोली लागेको थियो। हाल पनि गोली लागेका आठ जना युवाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।