नारायणी अस्पतालका चिकित्सकमाथिको आक्रमणप्रति चिकित्सक संघको आपत्ति, दोषीमाथि कारबाहीको माग
वीरगञ्ज — नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहित अन्य चिकित्सकमाथि भएको सामूहिक भौतिक आक्रमण, अस्पतालमा गरिएको तोडफोड तथा अवाञ्छित गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
शनिबार शाखा अध्यक्ष डा. मनोज कुमार गुप्ताको अध्यक्षतामा बसेको आकस्मिक बैठकपछि जारी विज्ञप्तिमा संघले उक्त घटनाको कडा निन्दा गर्दै यस्ता हिंसात्मक गतिविधिले सम्पूर्ण चिकित्सक समुदायलाई स्तब्ध र आक्रोशित बनाएको उल्लेख गरेको छ।
संघले घटनामा संलग्न व्यक्तिहरूमाथि मुलुकी अपराध संहिता, २०७४ तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (संशोधनसहित) बमोजिम तत्काल मुद्दा दर्ता गरी कानुनअनुसार कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।
त्यस्तै, घटनापछि निलम्बनमा परेका पीडित चिकित्सकहरूको निलम्बन तत्काल फिर्ता गरी उनीहरूको पेशागत सम्मान, सुरक्षा र मनोबल पुनःस्थापित गर्नुपर्ने संघको माग छ। साथै, वैज्ञानिक आधारबिनै गठन गरिएको छानबिन समिति तत्काल खारेज गर्न पनि संघले आग्रह गरेको छ।
विज्ञप्तिमा चिकित्सक तथा स्वास्थ्य संस्थाको कार्यसम्पादनमा पत्रकार वा अन्य पक्षबाट हुने अनधिकृत हस्तक्षेप, अनावश्यक दबाब तथा सार्वजनिक रूपमा गरिने पूर्वाग्रही टिप्पणी र चरित्रहत्या गर्ने गतिविधि रोक्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
नेपाल चिकित्सक संघ, नारायणी शाखाले स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्दै स्वास्थ्य संस्थामा शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित कार्य वातावरण कायम गर्न सरकार तथा सम्बन्धित निकायलाई प्रभावकारी कदम चाल्न अनुरोध गरेको छ।