दुर्गा प्रसाईंको दाबी : ‘दसैँ आसपास नेपालमा विदेशी सेना उत्रिन सक्छ’
शुक्रबार काठमाडौंमा पत्रकारहरूसँगको अन्तरक्रियामा प्रसाईंले देश भूराजनीतिक प्रभावको चपेटामा परेको दाबी गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्।
‘लगभग दसैँ छेकोमा यहाँ विदेशी सेना उत्रिँदै छ। अनि दलाई लामा पनि यहाँ जन्मन्छन्। त्यही विदेशी सेनाले दलाई लामालाई प्रोटेक्ट गर्छ,’ उनले भने।
उनले त्यस्तो अवस्था आएपछि देशको परिस्थिति फरक हुन सक्ने भन्दै नागरिकले त्यसबारे सोच्नुपर्ने बताए।
प्रसाईंले सहकारी र लघुवित्तको ऋणका कारण सर्वसाधारण समस्यामा परेको दाबी गर्दै आफूले पीडितको पक्षमा अभियान सञ्चालन गरिरहेको बताए।
झापामा तीन युवतीले आत्महत्या गरेको घटनाको उदाहरण दिँदै उनले आर्थिक अभाव र ऋणको दबाबका कारण नागरिकहरू निराश अवस्थामा पुगेको उल्लेख गरे।
उनले सहकारी तथा लघुवित्त पीडितको समस्या समाधानका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग गरे। जनताको आवाज उठाउँदा आफूलाई पटक–पटक सरकारले पक्राउ गरेको उनको भनाइ थियो।