राष्ट्रियसभाले ऐन कार्यान्वयनको अवस्था अध्ययन गर्न उपसमिति गठन गर्यो
काठमाडौं — राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले विभिन्न ऐनको कार्यान्वयन अवस्थाको अध्ययन गर्न उपसमिति गठन गरेको छ।
समितिले सांसद डा. अञ्जान शाक्यको संयोजकत्वमा ‘ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमिति’ गठन गरेको हो। उपसमितिमा सांसद खम्बबहादुर खाती, झक्कुप्रसाद सुवेदी, कृष्णप्रसाद सिटौला, राजेन्द्रलक्ष्मी गैह्रे, रामकुमारी झाँक्री र विष्णुदेवी पुडासैनी सदस्य रहेका छन्।
समितिका सभापति कृष्णबहादुर रोकायको अध्यक्षतामा साउन ४ गते बसेको बैठकले उपसमिति गठन गर्ने निर्णय गरेको थियो। उपसमितिले पहिलो बैठक सम्पन्न गरी कार्यविधि तयार पार्दै अध्ययन प्रक्रिया औपचारिक रूपमा सुरु गरेको जनाएको छ।
उपसमितिलाई कार्यान्वयनमा रहेका ऐनहरूको प्रभावकारिता अध्ययन गरी प्राथमिकताका आधारमा आवश्यक कानुनी सुधारका लागि सिफारिस गर्ने जिम्मेवारी दिइएको छ। साथै, कम्तीमा तीन देशको अभ्यास अध्ययन गर्ने, सरोकारवालासँग छलफल गर्ने र ३० दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश पनि दिइएको छ।
यसैबीच, विधायिकी अन्तरसम्बन्धको अध्ययन तथा आवश्यक सिफारिसका लागि सांसद सुरेश आलेमगरको संयोजकत्वमा अर्को उपसमिति पनि गठन गरिएको समितिले जनाएको छ।