डा. केसीको अनशनविरुद्ध प्रतिअनशनको चेतावनी
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिका संयोजक लोकराज पाण्डेले डा. गोविन्द केसीले विश्वविद्यालयसम्बन्धी विरोध र अनशन फिर्ता नलिए प्रतिअनशन बस्ने चेतावनी दिएका छन्।
भिडियो सन्देशमार्फत पाण्डेले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमवासीको लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि भएको भन्दै यसको विरोध स्वीकार्य नहुने बताएका छन्।
उनले विश्वविद्यालयका पदाधिकारी नियुक्ति खारेज गर्नुपर्ने मागसहित जारी डा. केसीको अनशन तत्काल फिर्ता लिन आग्रह गरेका छन्। माग पूरा नभए सरकार र डा. केसीविरुद्ध प्रतिअनशन सुरु गर्ने चेतावनीसमेत दिएका छन्।
यता, डा. गोविन्द केसी धनगढीमा २४औँ सत्याग्रहमा छन्। उनले चिकित्सा शिक्षा सुधारसँगै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना प्रक्रियासम्बन्धी विषयलाई पनि आफ्नो आन्दोलनको एजेन्डा बनाएका छन्।