स्वास्थ्यकर्मीमाथि हिंसामा ‘शून्य सहनशीलता’, दीर्घकालीन सुधार प्रक्रिया अघि बढाइँदै
स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा र स्वास्थ्य संस्थामाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’को नीति दोहोर्याउँदै स्वास्थ्य सेवामा विश्वास, सुरक्षा र उत्तरदायित्व अभिवृद्धिका लागि दीर्घकालीन सुधार प्रक्रिया अघि बढाएको जनाएको छ।
नारायणी अस्पतालमा भएको घटनापछि मन्त्रालयले कानुनी कारबाहीसँगै यस्ता घटना दोहोरिन नदिन आवश्यक नीतिगत, कानुनी र संस्थागत सुधारका लागि सरोकारवाला निकायसँग छलफल तीव्र बनाएको छ।
मन्त्रालयले गृह मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक सङ्घलगायतका निकायसँग स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ परिमार्जन र सुरक्षा व्यवस्था सुदृढ गर्ने विषयमा निरन्तर समन्वय भइरहेको जनाएको छ। साथै, स्वास्थ्यकर्मीमाथिको हिंसा, स्वास्थ्य संस्थामाथिको आक्रमण र बिरामीमाथिको लापरबाहीलाई कानुनबमोजिम निष्पक्ष रूपमा सम्बोधन गरिने मन्त्रालयले स्पष्ट पारेको छ।