नागढुंगा सुरुङमार्ग प्रभावितका माग सम्बोधन गर्ने मन्त्री लम्सालको आश्वासन
काठमाडौं — पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनस्थलमा प्रदर्शन गरिरहेका स्थानीयका माग सम्बोधन गर्ने आश्वासन दिएका छन्।
सोमबार सुरुङमार्ग उद्घाटनका लागि पुगेका मन्त्री लम्सालले सिमधारा दहचोक–४ खानेपानी उपभोक्ता समितिका प्रतिनिधिसँग भेट गर्दै प्रभावितका मागप्रति आफू सकारात्मक रहेको बताएका हुन्।
प्रभावितहरूले खानेपानी आयोजना सञ्चालनको ग्यारेन्टी, चर्किएका घरको उचित सम्बोधन, सिस्नेखोला पानी लिफ्टिङ खानेपानीको सुनिश्चितता, सुरुङमार्गमा स्थानीयको सहज आवतजावत, रोजगारी र सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका छन्।
मन्त्री लम्सालले माग सम्बोधनका लागि छलफल गर्न प्रभावित पक्षलाई दिउँसो २ बजे मन्त्रालयमा आउन आग्रह गरेका छन्।