नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन तीन स्थानमा उपकरण तयारी अवस्थामा
चितवन — नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षायाममा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा आवश्यक उपकरण व्यवस्थापन गरिएको छ।
डिभिजन सडक कार्यालय भरतपुरका अनुसार मुग्लिन, सेती दोभान र तुईन खोलामा एक्साभेटर, लोडर, ट्रिपरलगायतका उपकरण तयारी अवस्थामा राखिएको छ।
इन्जिनियर अर्जुन घिमिरेका अनुसार मुग्लिनमा लोडर तथा सेती दोभानमा लोडर, एक्साभेटर, ब्याक हु लोडर, ट्रिपर, टेलर र मिनी एक्साभेटर राखिएको छ। तुईन खोलामा निर्माण कम्पनीले एक्साभेटर र लोडरको व्यवस्था गरेको छ।
सडक कार्यालयले ठूलो पहिरो खसेमा हेटौँडा र पोखराबाट समेत हेभी इक्विपमेन्ट ल्याउने जनाएको छ। हाल वर्षायाम सुरु भएसँगै सडकखण्डमा दैनिकजसो साना–ठूला पहिरो खसिरहेको छ।
नारायणगढ–मुग्लिन सडकखण्डमा ४३ स्थान पहिरोको जोखिममा रहेका छन्। तीमध्ये सात स्थान उच्च जोखिममा रहेको सडक कार्यालयले जनाएको छ।