चिकित्सक संघद्वारा आज देशभर आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द
काठमाडौं, साउन १२ — नेपाल चिकित्सक संघले आज (मंगलबार) देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू बन्द गर्ने घोषणा गरेको छ।
संघले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधस्वरूप सेवा बन्दको निर्णय गरिएको जनाएको छ।
संघका अनुसार गत शनिबार (साउन ९) नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा उनीहरूको टाउकोमा गम्भीर चोट लागेको थियो। साथै अस्पतालमा तोडफोडसमेत भएको संघको भनाइ छ।
घटनामा संलग्नलाई कानुनबमोजिम कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमै प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य, नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकहरूलाई गालीगलौज र दुर्व्यवहार गरिएको संघले आरोप लगाएको छ।
चिकित्सक संघले आक्रमणमा संलग्नमाथि तत्काल कानुनी कारबाही र स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ।
संघले सेवा बन्दका कारण बिरामी तथा सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारको हुने जनाएको छ।