आईसीसीले २०२७ विश्वकप छनोटको नयाँ ढाँचा सार्वजनिक
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सन् २०२७ मा हुने एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगिताको तालिका र नयाँ ढाँचा सार्वजनिक गरेको छ। छनोट प्रतियोगिता सन् २०२७ को फेब्रुअरी २२ देखि मार्च २३ सम्म सञ्चालन हुनेछ।
आईसीसीका अनुसार छनोट प्रतियोगिताको विजेता टोली सिधै विश्वकपको मुख्य प्रतियोगितामा प्रवेश गर्नेछ। दोस्रो, तेस्रो र चौथो स्थानमा रहने टोलीले अन्तिम अवसरका रूपमा त्रिकोणात्मक शृङ्खला खेल्नेछन्, जसको विजेता टोलीले पनि विश्वकपमा स्थान बनाउनेछ।
सन् २०२७ को ओडिआई विश्वकपमा कुल १२ टोलीले प्रतिस्पर्धा गर्नेछन्। शीर्ष वरीयताका ८ टोली र आयोजक राष्ट्रका २ टोलीले सिधै स्थान पाउनेछन् भने बाँकी दुई स्थान छनोट प्रतियोगिता र त्यसपछिको त्रिकोणात्मक शृङ्खलाबाट तय हुनेछन्।