चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा २२ गैँडा मरे, दुई वटा करेन्ट लागेर
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा गत आर्थिक वर्षको असार मसान्तसम्म २२ वटा गैँडा मरेका छन्।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्ज क्षेत्रमा २० वटा र राष्ट्रिय वन क्षेत्रमा दुई वटा गैँडा मरेका हुन्।
उनका अनुसार दुई वटा गैँडा करेन्ट लागेर मरेका छन् भने बाँकी प्राकृतिक कारणले मरेका हुन्। चितवनको माडी र नवलपरासी (सुस्तापूर्व) को लोकाहा खोला नजिकै करेन्ट लागेर गैँडा मरेको जनाइएको छ।
माडीमा मध्यवर्ती क्षेत्र र नवलपरासीमा राष्ट्रिय वन क्षेत्रमा गैँडा करेन्ट लागेर मरेका हुन्। अन्य गैँडा दलदलमा फसेर, आपसमा जुधेर, बच्चालाई बाघले आक्रमण गरेर तथा बुढ्यौलीका कारण मरेको निकुञ्जले जनाएको छ।
आर्थिक वर्ष २०८१/८२ मा ३० वटा गैँडा प्राकृतिक कारणले मरेका थिए। तीमध्ये दुई वटा राष्ट्रिय वन क्षेत्रमा र बाँकी निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा मरेका थिए।
सन् २०२१ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा वयस्क गैँडा रहेका छन्।