बागमतीमा यातायात सेवा डिजिटल बनाउने तयारी, अनलाइन प्रणाली विस्तार गरिँदै
काठमाडौं — बागमती प्रदेश सरकारले यातायात सेवालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन डिजिटल प्रणाली विस्तार गर्ने भएको छ।
आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत यातायात कार्यालयबाट प्रदान हुने सेवाहरू क्रमशः अनलाइन माध्यमबाट प्रवाह गर्ने तयारी गरिएको आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिएका छन्।
‘प्रविधि र पारदर्शिता : सेवा प्रवाहको नयाँ परिभाषा’ भन्ने अवधारणाअनुसार पुराना कागजी फाइललाई विद्युतीय अभिलेखमा रूपान्तरण गर्ने, सवारी चालक अनुमतिपत्र र सवारी दर्ता प्रणाली सुधार गर्ने तथा राष्ट्रिय परिचयपत्रसँग प्रणाली आबद्ध गर्ने योजना अघि बढाइएको छ।
सरकारले यातायात सेवामा सुशासन कायम गर्न चालक अनुमतिपत्रको लिखित परीक्षा अनलाइन गर्ने, प्रयोगात्मक परीक्षा स्वचालित बनाउने र सवारी परीक्षणमा आधुनिक प्रविधि प्रयोग गर्ने तयारी गरेको छ।
प्रदेश सरकारले संघीय सरकारसँगको सहकार्यमा सवारी चालक अनुमतिपत्रको छपाइ तथा वितरण प्रदेशबाटै गर्ने व्यवस्था मिलाउने जनाएको छ। साथै, सवारी दर्ता प्रमाणपत्रलाई क्युआर कोडयुक्त स्मार्ट कार्डमा रूपान्तरण गर्ने र राजस्व भुक्तानी तथा नवीकरण सेवा विद्युतीय माध्यमबाट उपलब्ध गराउने योजना रहेको छ।
नागरिक एपसँग यातायात सेवाको पहुँच जोड्दै चालक अनुमतिपत्र, ब्लुबुक र यान्त्रिक परीक्षणसम्बन्धी जानकारी मोबाइलबाटै हेर्न सकिने व्यवस्था गरिने सरकारले जनाएको छ।
यातायात कार्यालयहरूलाई सेवाग्राहीमैत्री बनाउन डिजिटल डिस्प्ले, टोकन प्रणाली, व्यवस्थित प्रतीक्षालय, शुद्ध खानेपानी, सफा शौचालयलगायत पूर्वाधार सुधारका लागि समेत बजेट व्यवस्था गरिएको मन्त्री तामाङले बताए।
यसैगरी सार्वजनिक यातायातका सवारीसाधनको नियमित यान्त्रिक परीक्षण तथा पुराना सवारीसाधन व्यवस्थापनका लागि निजी क्षेत्रको सहकार्यमा स्वचालित प्रविधियुक्त परीक्षण केन्द्र स्थापना गर्ने तयारी गरिएको छ।