झापामा करेन्ट लागेर महिलाको मृत्यु, मेचीनगरमा आगलागी
झापाको भद्रपुर नगरपालिका–४ मा हात्ती धपाउन लगाइएको नाङ्गो विद्युतीय तार छोएपछि करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय ६५ वर्षीया सनज्योति लिम्बूको आज बिहान घटनास्थलमै मृत्यु भएको हो।
घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको जनाएको छ।
यसैबीच, मेचीनगर नगरपालिका–१० नागरडुब्बामा फ्रिजको तार सर्ट भएर आगलागी हुँदा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ।