नीट प्रश्नपत्र चुहावट प्रकरण : शिक्षामन्त्री हटाउन राहुल गान्धीको माग
भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर सरकार र विपक्षीबीचको विवाद चर्किएको छ। कांग्रेस नेता राहुल गान्धीले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानलाई पदबाट हटाउन माग गरेका छन्।
शुक्रबार घाइते विद्यार्थीहरूसँग भेट गरेपछि पत्रकारसँग कुरा गर्दै राहुलले शिक्षामन्त्री प्रधानलाई ‘अपराधी शिक्षामन्त्री’ भन्दै भारतको शिक्षा प्रणाली कमजोर बनाएको आरोप लगाए। उनले मन्त्रीले राजीनामा नदिएसम्म कुनै पनि छलफलमा सहभागी नहुने अडान दोहोर्याए।
यता, केन्द्रीय संसदीय मामिलामन्त्री किरेन रिजिजूले नीट प्रकरणबारे संसदमा छलफल गर्न सरकार तयार रहेको बताएका छन्। उनले विपक्षीलाई संसद सञ्चालनमा सहयोग गर्न आग्रह गरेका छन्।
राहुल गान्धीले भने आफूलाई संसदमा बोल्न नदिएको र माइक्रोफोन बन्द गरिएको आरोप लगाएका छन्। कांग्रेस नेता केसी वेणुगोपालले पनि प्रधानमन्त्रीलाई शिक्षामन्त्री प्रधानलाई हटाउन आग्रह गरेका छन्।