मधेस प्रदेशसभामा आजदेखि बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुँदै
जनकपुरधाम । मधेस प्रदेशसभामा आजदेखि आगामी आर्थिक वर्ष २०८३–८४ को विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल सुरु हुने भएको छ। प्रदेशसभा सचिवालयका अनुसार यसका लागि प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बोलाइएको छ।
प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाले आजको बैठकबाट सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकमाथिको विषयगत मन्त्रालयका शीर्षकमा छलफल प्रारम्भ हुने जानकारी दिएका छन्। छलफलका क्रममा विभिन्न मन्त्रालयका लागि प्रस्तावित बजेट, कार्यक्रम तथा खर्चका प्राथमिकतामाथि सांसदहरूले आफ्नो धारणा राख्नेछन्।
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरिसकेको छ। प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै कृषि नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखिएको बताएका थिए।
बजेटमाथिको छलफलपछि सांसदहरूले उठाएका सुझाव र जिज्ञासाको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्। त्यसपछि विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने संसदीय प्रक्रिया अघि बढ्ने प्रदेशसभा सचिवालयले जनाएको छ।