रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज हुँदै
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज हुने भएको छ।
चितवनको भरतपुरमा हालै सम्पन्न पार्टीको पहिलो महाधिवेशनबाट निर्वाचित ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम बुधबारका लागि तय गरिएको हो।
शपथ ग्रहण कार्यक्रमपछि पार्टीले केन्द्रीय समितिको बैठक पनि बस्ने तयारी गरेको छ। उक्त बैठकमा मनोनीत पदाधिकारी तथा सदस्यहरूको विषयमा छलफल गरी आवश्यक निर्णय लिने तयारी रहेको रास्वपाका नेताहरूले जनाएका छन्।
गत असार ७ देखि १२ गतेसम्म भरतपुरमा सम्पन्न रास्वपाको पहिलो महाधिवेशनले पार्टी सभापतिमा रवि लामिछानेलाई निर्विरोध चयन गरेको थियो। महाधिवेशन समापनकै क्रममा सभापति लामिछानेले भने भरतपुरमै शपथ ग्रहण गरिसकेका थिए।
पार्टी नेतृत्वले आजको शपथ ग्रहणलाई संगठनात्मक संरचना औपचारिक रूपमा पूर्णता दिने महत्वपूर्ण चरणका रूपमा लिएको छ।