प्रतिनिधिसभाका चार संसदीय समितिको आज बैठक, विधेयकदेखि बीमा र ई–पासपोर्टसम्म छलफल
काठमाडौं, साउन १४ — संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतका विभिन्न चार संसदीय समितिको बैठक आज सिंहदरबारमा बस्दैछ। बैठकहरूमा विधेयकमाथिको छलफल, बीमा क्षेत्रको समीक्षा तथा विद्युतीय राहदानी छपाइलगायत समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ८ः३० बजे बस्नेछ। बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल गर्ने कार्यसूची छ। छलफलका लागि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री, सम्बन्धित मन्त्रालयका सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक तथा विषय विज्ञ डा. गोपालकुमार चौधरीलाई आमन्त्रण गरिएको छ।
उही समयमा बस्ने अर्थ समितिको बैठकमा नेपाल बीमा प्राधिकरण को आर्थिक वर्ष २०८२/८३ को प्रमुख गतिविधि, बीमा क्षेत्रको नियामकीय तथा नीतिगत चुनौती, बीमितको हित संरक्षण, बीमा व्यवसायको जोखिम न्यूनीकरणका लागि गरिएका प्रयास तथा सरकारी स्वामित्वका बीमा संस्थान र कम्पनीहरूको पछिल्लो तीन वर्षको कार्यसम्पादनबारे जानकारी लिने कार्यसूची रहेको छ।
यसैगरी, सार्वजनिक लेखा समितिको बैठक बिहान ९ः३० बजे बस्नेछ। बैठकमा विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइ सम्बन्धी विषयमा छलफल हुने जनाइएको छ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक पनि बिहान ९ः३० बजे बस्नेछ। बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल गरिनेछ। छलफलका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, मन्त्रालयका सचिव तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव वा प्रतिनिधिलाई आमन्त्रण गरिएको छ।