भाइरल भिडियोपछि सांसद बब्लु गुप्तालाई ५०० रुपैयाँ जरिमाना
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वमन्त्री बब्लु गुप्तालाई ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै ५०० रुपैयाँ जरिमाना गरिएको छ।
चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक प्रहरीले उनीमाथि कारबाही गरेको हो। सिरहा–१ बाट निर्वाचित सांसद गुप्ताको उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो।
आलोचनापछि सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत आफ्नो व्यवहारप्रति दुःख व्यक्त गर्दै ट्राफिक नियम उल्लङ्घन भएको स्वीकार गरेका छन्। उनले आफूबाट गल्ती भएको भन्दै क्षमा माग्दै आगामी दिनमा जिम्मेवार ढंगले प्रस्तुत हुने प्रतिबद्धता जनाएका छन्।