नेपालको लगातार चौथो हार, लिग–२ मा शीर्ष चारको सम्भावना कठिन
काठमाडौं — आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलामा नेपालले लगातार चौथो हार बेहोरेको छ। बुधबार भएको खेलमा नेपाल घरेलु टोली नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको हो।
नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा १६८ रनमै अलआउट भयो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ३८ रन बनाए भने कप्तान रोहित पौडेलले २६ र करण केसीले २३ रनको योगदान दिए। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२५ रन बनाएको थियो। घरेलु टोलीका नोआ क्रोसले ७० रन बनाए भने कप्तान स्कट एडवार्ड्सले ५७ रनको योगदान दिए। बलिङतर्फ नेपालका करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए।
यो हारसँगै आईसीसी विश्वकप लिग–२ को शीर्ष चारमा पुग्ने नेपालको सम्भावना निकै कमजोर बनेको छ। ३२ खेलबाट २४ अंक जोडेको नेपाल अब बाँकी खेल जिते पनि अन्य टोलीको प्रदर्शनमा निर्भर रहनुपर्ने अवस्थामा पुगेको छ।