राष्ट्रिय सुरक्षा परिषद्को बैठक : सुनसरी घटनाको समीक्षा, सामाजिक सद्भाव र समन्वय सुदृढ गर्ने निर्णय
काठमाडौं — राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता तथा सुरक्षा निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकमा देशको समग्र सुरक्षा अवस्था तथा साउन १० गते सुनसरीमा भएको घटनाबारे विस्तृत समीक्षा गरिएको परिषद्का सदस्य सचिव तथा रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिए।
उनका अनुसार भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाबीच प्रभावकारी समन्वय गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावना कायम राख्ने गरी कार्यसम्पादन गर्ने निर्णय बैठकले गरेको छ।
बैठकमा विपद्का घटनामा खोज, उद्धार तथा राहतका कार्यलाई समयमै प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायबीचको समन्वयलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको सचिव शर्माले बताए।
परराष्ट्रमन्त्री शिशिर खनालले राजनीतिक दल, स्थानीय सरोकारवाला तथा सुरक्षा निकायको संयुक्त प्रयासबाट सुनसरीको अवस्था क्रमशः सामान्य बन्दै गएको जानकारी बैठकमा गराइएको बताए। उनका अनुसार उक्त अवस्थालाई दिगो बनाउन स्थानीय तहमा संवाद र समन्वयलाई निरन्तरता दिनुपर्नेमा बैठकले जोड दिएको छ।
बैठकमा यस प्रकारका घटना पुनः दोहोरिन नदिन आवश्यक संवादलाई तीव्र बनाउने, सम्भावित सङ्कट तथा भिड व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्ने, आवश्यक स्रोत–साधनको व्यवस्था मिलाउने तथा तालिमलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो।
बैठकमा अर्थमन्त्री, परराष्ट्रमन्त्री, गृहमन्त्री, नेपाल सरकारका मुख्य सचिव तथा प्रधान सेनापतिलगायत उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।