स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा मन्त्रालयले माग्यो सुझाव
काठमाडौं — स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामाथि सर्वसाधारणबाट राय तथा सुझाव माग गरेको छ।
मन्त्रालयले २०८३ साउन ६ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार मस्यौदा सार्वजनिक गर्दै ७ दिनभित्र सुझाव पठाउन आग्रह गरेको हो। इच्छुक व्यक्ति वा संस्थाले २०८३ साउन १२ गतेभित्र मन्त्रालयको कानून शाखाको इमेलमार्फत सुझाव पठाउन सक्ने जनाइएको छ।
प्रस्तावित संशोधनमा स्वास्थ्यसम्बन्धी परिषद्मा दर्ता हुने विषय अध्ययन गरिरहेका विद्यार्थीलाई पनि “अध्ययनरत विद्यार्थी” को परिभाषामा समेट्ने व्यवस्था गरिएको छ।
मस्यौदामा स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीविरुद्ध हतियारसहित आपराधिक बल प्रयोग गर्न नपाइने नयाँ प्रावधान थप गरिएको छ। साथै, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि हुने सुरक्षा उल्लंघनसम्बन्धी व्यवस्थामा अध्ययनरत विद्यार्थीलाई समेत समावेश गर्ने प्रस्ताव गरिएको छ।
संशोधन प्रस्तावले दण्डसम्बन्धी व्यवस्थामा परिमार्जन गर्नुका साथै ऐन कार्यान्वयनका लागि आवश्यक निर्देशिका, कार्यविधि वा मापदण्ड बनाउन मन्त्रालयलाई अधिकार दिने व्यवस्था पनि समेटेको छ।
मन्त्रालयले स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था तथा स्वास्थ्य शिक्षा अध्ययनरत विद्यार्थीको सुरक्षा थप प्रभावकारी बनाउन ऐन संशोधनको प्रक्रिया अघि बढाइएको जनाएको छ।