लागूऔषध नियन्त्रण र फरार अभियुक्त पक्राउमा कञ्चनपुर प्रहरी सक्रिय
कञ्चनपुर प्रहरीले लागूऔषध नियन्त्रण र अदालतबाट सजाय तोकिएर फरार रहेका अभियुक्त पक्राउ अभियानलाई तीव्र बनाएको जनाएको छ। आर्थिक वर्ष २०८२/८३ मा लागूऔषधसम्बन्धी २३१ मुद्दा दर्ता हुँदा २० महिला र ३८९ पुरुष पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी टेकबहादुर रावतका अनुसार लागूऔषध प्रयोग र कारोबार नियन्त्रण अहिले प्रहरीको मुख्य चुनौती बनेको छ। गत वर्ष प्रहरीले ६५८ ग्राम खैरो हेरोइन, साढे ६ किलो चरेस, ५२६ ग्राम गाँजा र ७२६ वटा ट्याबलेट बरामद गरेको छ।
त्यसैगरी, फैसला कार्यान्वयन अभियानअन्तर्गत ५६२ जना फरार अभियुक्त पक्राउ परेका छन्। प्रहरीले जरिवानाबापत २ करोड ४५ लाख रुपैयाँ असुलीसमेत गरेको जनाएको छ।