लागूऔषधसहित काठमाडौं र मोरङबाट चार जना पक्राउ
प्रहरीले काठमाडौं र मोरङबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौंको गोकर्णेश्वरका दीपक श्रेष्ठ र बझाङका सागर जेठारालाई १३६ ग्राम खैरो हेरोइन र एक लाख रुपैयाँ नगदसहित पक्राउ गरिएको हो।
प्रहरीले सागरको साथबाट चिकित्सकको सिफारिसमा मात्र पाइने ट्रामाडोल, टापेन्टाडोल, नाइट्राजेपाम र प्रिग्याबालिनलगायतका हजारौँ ट्याब्लेटसमेत बरामद गरेको जनाएको छ।
यस्तै, मोरङको रङ्गेली नगरपालिका–७ बाट दुई जना भारतीय नागरिकलाई खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। चारै जना बुधबार पक्राउ परेका हुन्।