गोपालमान श्रेष्ठको निधनपछि कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक
नेपाली कांग्रेसले नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गर्न बुधबार (साउन १३) बिहान ८ः३० बजे केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।
ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध पदाधिकारी तथा केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकले नेता श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गर्नेछ।
श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ९ बजेदेखि ११ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिनेछ। त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने कांग्रेसले जनाएको छ।