बजेट विवाद चर्किँदा सुदूरपश्चिममा एमालेका सबै मन्त्री बर्खास्त
धनगढी — सुदूरपश्चिम प्रदेश सरकारमा बजेट विवादका कारण राजनीतिक तनाव चुलिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (एमाले) बाट सरकारमा सहभागी सबै मन्त्रीलाई बर्खास्त गरेका छन्।
आगामी आर्थिक वर्षको बजेट पारित गर्ने विषयमा सत्ता गठबन्धनभित्र मतभेद बढेपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई बजेट पारित गर्न सहयोग गर्न वा पदबाट राजीनामा दिन आग्रह गरेका थिए। तर उनीहरूले दुवै विकल्प अस्वीकार गरेपछि मुख्यमन्त्रीले बर्खास्त गर्ने निर्णय लिएको जनाइएको छ।
मुख्यमन्त्री शाहले बजेटबारे छलफल गर्न बोलाएको बैठकमा सरकारमा रहेर सरकारकै काममा असहयोग गर्न नमिल्ने स्पष्ट पारेका थिए। उनले सरकारमा रहने हो भने बजेट पारित गर्न सहयोग गर्नुपर्ने र त्यसो गर्न नसक्ने अवस्थामा राजीनामा दिनुपर्ने धारणा राखेका थिए।
मुख्यमन्त्रीको भनाइप्रति असन्तुष्टि जनाउँदै एमालेका मन्त्रीहरू बैठक छाडेर बाहिरिएका थिए। त्यसलगत्तै मुख्यमन्त्री शाहले एमालेबाट प्रतिनिधित्व गर्ने सबै मन्त्रीलाई पदमुक्त गरेका हुन्।
प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित गर्ने विषयमा सत्ता गठबन्धनभित्र देखिएको मतभेदले सुदूरपश्चिमको राजनीतिक समीकरण थप पेचिलो बनेको छ।