एमालेविरुद्ध योजनाबद्ध घेराबन्दी भइरहेको ओलीको आरोप
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा ‘देशद्रोही भाष्य’ निर्माण गरेर पार्टीलाई घेराबन्दी गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्। शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा उनले यस्ता भ्रमपूर्ण प्रचारविरुद्ध पार्टी पंक्ति दृढतापूर्वक उभिनुपर्ने बताएका हुन्।
ओलीले वर्तमान सरकार ‘चटक’को भरमा बनेको टिप्पणी गर्दै यस्तो शैलीका कारण सरकार लामो समय टिक्न नसक्ने दाबी गरे। सुकुम्बासी व्यवस्थापनका विषयमा उनले आफ्नो नेतृत्वको सरकारले भूमिहीन र सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने तयारी गरे पनि अदालतले सम्बन्धित आयोग खारेज गरेपछि प्रक्रिया रोकिएको बताए। त्यसबारे जनतासामु वास्तविकता स्पष्ट रूपमा राख्न नसक्नु पार्टीको कमजोरी भएको उनले स्वीकार गरे।
पार्टीभित्र र बाहिरबाट हुने आलोचनाबारे बोल्दै ओलीले ५७ वर्षदेखि संघर्ष र राजनीतिक यात्रामार्फत पार्टी निर्माणमा निरन्तर लागेको उल्लेख गरे। पार्टी सफल हुँदा सबैले श्रेय लिने तर चुनौतीका बेला सबै दोष अध्यक्षमाथि थोपर्ने प्रवृत्ति उचित नभएको उनको भनाइ थियो। उनले लोकतन्त्रविरोधी र देशविरोधी गतिविधि बढाउन खोजिएको आरोप लगाउँदै समाजमा फैलाइएका भ्रम चिर्न नेता–कार्यकर्तालाई जनतामाझ सक्रिय रूपमा जान निर्देशन दिए।