सुनसरी तनावग्रस्त, सेना परिचालन; गोलीकाण्डपछि कर्फ्यु जारी
इनरुवा — सुनसरीको देवानगञ्ज–३ स्थित कप्तानगञ्जमा ‘बोलबम’ यात्राका क्रममा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि अवस्था तनावपूर्ण बनेको छ। प्रहरीको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने ९ जनाभन्दा बढी स्थानीय र १३ जना सुरक्षाकर्मी घाइते भएका छन्।
घटनापछि देवानगञ्ज, हरिनगरा, भुटाहा, कप्तानगञ्ज र घुस्की क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ। इनरुवासहितका क्षेत्रमा प्रदर्शन भएपछि नेपाली सेना बख्तरबन्द गाडीसहित परिचालन गरिएको छ।
प्रहरीका अनुसार बोलबम यात्राका क्रममा डिजेको आवाजलाई लिएर विवाद भएपछि दुई समुदायबीच झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन सुरुमा अश्रुग्यास र हवाई फायर गरिएको तथा अवस्था नियन्त्रणमा नआएपछि गोली चलाइएको प्रहरीले जनाएको छ।
उता, घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको छ भने घटनाबारे छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक पनि बसेको छ।