लेबलविहीन र नक्कली जुत्ता–चप्पल बिक्री नगर्न विभागको चेतावनी
विभागले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै बजारमा लेबलविहीन, नक्कली, कम गुणस्तरका तथा चोरी पैठारी गरिएका फुटवेयर भौतिक र डिजिटल दुवै माध्यमबाट बिक्री भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। यस्ता गतिविधिबारे विभिन्न माध्यमबाट उजुरी तथा गुनासा प्राप्त भएपछि विभागले कानुनको पूर्ण पालना गर्न उत्पादक, आयातकर्ता तथा व्यवसायीलाई आग्रह गरेको छ।
विभागका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ बमोजिम उत्पादकले उत्पादन गरेका वस्तुमा अनिवार्य रूपमा तोकिएको विवरणसहितको लेबल राख्नुपर्छ। त्यस्तै, दफा ८ अनुसार आयातकर्ताले वस्तु आयात गर्दा कानुनले निर्धारण गरेका सबै सर्त पूरा गर्नुपर्ने व्यवस्था छ भने दफा ११ ले उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउने जिम्मेवारी बिक्रेतामाथि तोकेको छ।
विभागले उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता तथा बिक्रेतालाई कानुनले तोकेका मापदण्ड र दायित्वको पूर्ण पालना गर्दै व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ।
साथै, लेबलविहीन, नक्कली, कम गुणस्तरका वा अवैध रूपमा आयात गरिएका जुत्ता–चप्पलको उत्पादन, आयात वा बिक्री–वितरण गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ।