देउवा बाथरुममा लडेर घाइते, उपचारपछि अस्पतालबाट डिस्चार्ज
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बाथरुममा लडेर घाइते भएका छन्। केही दिनअघि भएको उक्त घटनापछि उनलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको देउवानिकट स्रोतले जनाएको छ।
उपचारपछि स्वास्थ्यमा सुधार आएपछि देउवा अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको सल्लाहअनुसार आराम गरिरहेको स्रोतले जानकारी दिएको छ।
देउवा पछिल्लो समय उपचारका क्रममा हङकङमा रहेका छन्। गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कुटपिटबाट घाइते भएपछि उनी उपचारका लागि सिंगापुर गएका थिए। त्यसपछि थप उपचारका लागि ७ चैत २०८२ मा हङकङ पुगेका हुन्।
हङकङ बसाइका क्रममा देउवा पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग हिँडडुल गरिरहेका तस्बिर तथा भिडियोहरू पनि सार्वजनिक हुँदै आएका छन्।