ब्रोड पिक हिमपहिरोमा बेपत्ता आरोहीमध्ये चार जनाको शव फेला
काठमाडौं — पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका आरोहीमध्ये चार जनाको शव फेला परेको छ।
आरोहण व्यवस्थापन कम्पनी सेभेन समिटका महाप्रबन्धक थानेश्वर गुरागाईंले चार जनाको शव फेला परेको सूचना प्राप्त भएको जानकारी दिएका छन्। उनका अनुसार शवको पहिचान भने हुन बाँकी छ।
गुरागाईंका अनुसार करिब ६ हजार ७ सय मिटर उचाइमा पुगेपछि आरोहीहरू हिमपहिरोमा परेका थिए। हिमपहिरोपछि विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ सहित १० जना आरोही सम्पर्कविहीन भएका थिए।
बेपत्ता भएका १० आरोहीमध्ये ६ जना नेपाली छन्। उनीहरू गोरखा, दोलखा र संखुवासभाका रहेको सेभेन समिटले जनाएको छ। कम्पनीका अनुसार बेपत्ता आरोहीहरूमा ओमानका नधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ जोङ, अमेरिकाकी मालोरी गाइस, नेपालका निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा रहेका छन्।
पर्यटनमन्त्री गणेश पौडेलले पनि चार जनाको शव फेला परेको पुष्टि गरेका छन्। उनले उद्धारका लागि हेलिकप्टर र टोली परिचालन गरिएको तथा पाकिस्तानी अधिकारीहरूसँग नियमित समन्वय भइरहेको बताएका छन्।
पाकिस्तानी सेनाका दुई हेलिकप्टर उद्धारकर्मी र आवश्यक उपकरणसहित घटनास्थलतर्फ पठाइएको छ। पाकिस्तानको अल्पाइन क्लबका अनुसार सेनाको हेलिकप्टरले स्थलमार्गबाट भइरहेको खोजी तथा उद्धार अभियानलाई सहयोग गरिरहेको छ।
उच्च हिमाली क्षेत्रमा उद्धार कार्य चुनौतीपूर्ण रहेकाले अतिरिक्त जनशक्ति र विशेष उपकरण परिचालन गरिएको बताइएको छ। कराकोरम क्षेत्रका अन्य हिमालमा रहेका आरोही तथा विभिन्न आरोहण कम्पनीका सदस्यहरू पनि उद्धार अभियानमा सहभागी भएका छन्।
८ हजार ४७ मिटर अग्लो ब्रोड पिक कराकोरम पर्वत शृंखलामा रहेको विश्वको १२औँ अग्लो हिमाल हो। कठिन आरोहणका लागि परिचित यस हिमालमा शुक्रबार हिमपहिरो गएपछि निर्मल पुर्जाको टोली सम्पर्कविहीन भएको थियो।
निर्मल पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल ६ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरी विश्व कीर्तिमान बनाएका थिए। ब्रोड पिक पनि उनले आरोहण गरेका १४ हिमालमध्ये एक हो।
पर्यटन विभागले पनि बेपत्ता आरोहीहरूको खोजीका लागि कूटनीतिक माध्यमबाट पाकिस्तान सरकारसँग समन्वय भइरहेको जनाएको छ।