सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस
काठमाडौं — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने जनाएको छ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै कांग्रेसकी प्रमुख सचेतक वासना थापाले घटनाको निष्पक्ष र विश्वसनीय छानबिन हुनुपर्ने माग गरिन्।
उनले प्रधानमन्त्री र गृहमन्त्री घटनापछि मौन रहेको भन्दै आलोचना गरिन्। नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्दै उनले सरकारसँग जवाफ मागिन्।
प्रमुख सचेतक थापाले कसैको उक्साहट, अफवाह र घृणाको राजनीतिले सामाजिक सद्भाव खल्बल्याउन नसक्ने बताउँदै सम्पूर्ण नेपालीलाई सहिष्णुता र शान्तिको पक्षमा एकजुट हुन आग्रह गरिन्।