प्रतिबन्धित वस्तुको कारोबार तत्काल रोक्न विभागको चेतावनी
काठमाडौं — वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध लगाएका वस्तुको भौतिक तथा डिजिटल माध्यमबाट भइरहेको बिक्री–वितरण तत्काल रोक्न सम्बन्धित सबै पक्षलाई चेतावनी दिएको छ।
विभागले सोमबार सूचना जारी गर्दै नेपाल राजपत्रमार्फत निकासी वा पैठारीमा पूर्ण वा परिमाणात्मक बन्देज लगाइएका वस्तु अझै पनि बजारमा बिक्री–वितरण भइरहेको गुनासो प्राप्त भएको जनाएको छ।
विभागले प्रतिबन्धित वस्तुको अनधिकृत पैठारी, भण्डारण तथा बिक्री–वितरण कानुनविपरीत हुने उल्लेख गर्दै पैठारीकर्ता, सञ्चयकर्ता र विक्रेतालाई कानुनले तोकेका व्यवस्था पालना गर्न आग्रह गरेको छ।
सूचनामा निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३, उपभोक्ता संरक्षण ऐन, २०७५ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।