धनुषामा बफर कोटाको रासायनिक मल वितरण सुरु
कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले धान रोपाइँको समयमा किसानलाई लक्षित गर्दै बफर कोटाको युरिया र डिएपी मल वितरण सुरु गरेको छ।
मधेस प्रदेश सरकारको निर्णयअनुसार स्थानीय तहको सिफारिसका आधारमा मल वितरण थालिएको कम्पनीले जनाएको छ। कार्यालयका अनुसार डिएपी मलको अभाव विस्तारै कम हुँदै गएको छ भने साउनको दोस्रो सातासम्म थप मल आएपछि आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।
कृषि सामग्री कम्पनी जनकपुरधामले आर्थिक वर्ष २०८२/८३ मा १८ हजार ७४५ मेट्रिक टनभन्दा बढी रासायनिक मल किसानलाई वितरण गरेको जनाएको छ। जसमा ११ हजार २४१ मेट्रिक टन युरिया, ६ हजार ९६३ मेट्रिक टन डिएपी, ३७९ मेट्रिक टन पोटास र १६० मेट्रिक टन कृषि चुन रहेको छ।
कार्यालयले धान रोपाइँको सिजनमा मलको नियमित आपूर्ति र मौज्दात व्यवस्थापनलाई प्रभावकारी बनाइएको जनाएको छ।