स्वास्थ्य बीमा बोर्डद्वारा ३६८ अस्पताललाई २ अर्बभन्दा बढी भुक्तानी
काठमाडौं, साउन — स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म देशभरका ३६८ अस्पताल तथा स्वास्थ्य संस्थालाई कुल २ अर्ब ७ करोड ३७ लाख ९९ हजार ९६३ रुपैयाँ दाबी रकम भुक्तानी गरेको जनाएको छ।
बोर्डका अनुसार स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बीमित नागरिकलाई सेवा उपलब्ध गराएबापत अस्पतालहरूले पेश गरेका दाबी परीक्षण तथा प्रमाणीकरणपछि उक्त रकम निकासा गरिएको हो।
भुक्तानी प्राप्त गर्ने अस्पतालमध्ये भरतपुर अस्पताल, चितवन पहिलो स्थानमा रहेको छ। उक्त अस्पतालले ८ करोड २१ लाख ५४ हजार ८८५ रुपैयाँ प्राप्त गरेको छ। त्यसपछि नोबेल मेडिकल कलेज, मोरङ ले ६ करोड २१ लाख ३१ हजार १९२ रुपैयाँ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, काठमाडौं ले ४ करोड ६६ लाख ८ हजार १९१ रुपैयाँ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुनसरी ले ४ करोड ५८ लाख ३० हजार ७४५ रुपैयाँ तथा वीर अस्पताल, काठमाडौं ले ४ करोड ४३ लाख ७६ हजार ९३३ रुपैयाँ भुक्तानी प्राप्त गरेका छन्।
त्यसैगरी धुलिखेल अस्पताल, काभ्रे ले ४ करोड ९७ लाख ३१ हजार १७ रुपैयाँ, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, कास्की ले ४ करोड ७९ लाख ४ हजार ७६४ रुपैयाँ र लुम्बिनी प्रादेशिक अस्पताल, रुपन्देही ले ४ करोड २६ लाख ७३ हजार ५५९ रुपैयाँ प्राप्त गरेका छन्।
स्वास्थ्य बीमा बोर्डले दाबी परीक्षण र प्रमाणीकरण प्रक्रिया पूरा भएपछि मात्रै भुक्तानी गरिएको जनाएको छ। यद्यपि, अस्पतालहरूले विगतदेखि दाबी भुक्तानीमा हुने ढिलाइबारे गुनासो गर्दै आएका छन्।
सरोकारवालाहरूका अनुसार पछिल्लो भुक्तानीले अस्पतालहरूलाई केही राहत पुगेको भए पनि स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन दाबी व्यवस्थापन तथा भुक्तानी प्रणालीलाई अझ छिटो, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक रहेको छ।