राष्ट्रियसभाको बैठक आज बस्दै, गृहमन्त्री र शिक्षामन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
काठमाडौं — संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १:१५ बजे सिंहदरबारस्थित संसद भवनमा बस्ने भएको छ।
संसद सचिवालयका अनुसार बैठकमा गृहमन्त्री सुधन गुरुङ र शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आफ्ना मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरूले उठाएका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।
यस्तै, राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी’ सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने तयारी रहेको छ।
बैठकमा राष्ट्रियसभा अध्यक्षले संविधानसभा सदस्य, प्रतिनिधिसभाका पूर्व सदस्य तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।