गणेश नेपालीलाई तत्काल भारत नलैजाने, वीरमै उपचार जारी
काठमाडौं– जलनका बिरामी मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई तत्काल थप उपचारका लागि भारत नलैजाने निर्णय गरिएको छ। चिकित्सकहरूले हालको अवस्थामा उनलाई अन्यत्र स्थानान्तरण गर्दा थप जोखिम हुने सुझाव दिएपछि सरकारले भारत लैजाने तयारी स्थगित गरेको हो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार नेपालीलाई नयाँदिल्लीस्थित एम्स अस्पताल लैजान एयर एम्बुलेन्ससहित सम्पूर्ण तयारी पूरा गरिएको थियो भने उपचार खर्च सरकारले व्यहोर्ने निर्णयसमेत गरिएको थियो।
हाल नेपालीको वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। अस्पतालका अनुसार उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ। उनको उपचार प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेषज्ञ टोलीले गरिरहेको छ।
चिकित्सकहरूले स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै थप उपचारका लागि भारत लैजान उपयुक्त हुने सुझाव दिएका छन्।