लमजुङमा पहिरोले घर पुरिँदा बाबुछोरीको मृत्यु
लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा पहिरोले घर पुरिँदा एकै परिवारका दुईजनाको मृत्यु भएको छ।
मंगलबार बिहान गएको पहिरोमा परी ५९ वर्षीय टिकबहादुर विक र उनकी छोरी विनिता विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भोर्लेटारले जनाएको छ।
घरमाथि रहेको नगरकुलो भत्किएपछि आएको पहिरोले दुईतले कच्ची घर पुरेको थियो। घटनामा विककी श्रीमती सुकमाया र जेठी छोरी अस्मिता घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
विक परिवार स्थानीय विष्णुदत्त सुवेदीको घरमा बस्दै आएको थियो।