स्वास्थ्यकर्मीमाथि आक्रमणप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ला दिनमा चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा घटनामा संलग्न दोषीलाई पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइरहेको उल्लेख छ।
स्वास्थ्य सेवा जीवनरक्षक र अत्यावश्यक सेवा भएकाले स्वास्थ्यकर्मीले सुरक्षित तथा सम्मानजनक वातावरणमा काम गर्न पाउनु अधिकार भएको मन्त्रालयले जनाएको छ। साथै नागरिकको उपचार सेवामा अवरोध नआउने वातावरण बनाउन सबै अस्पताललाई आग्रह गरेको छ।
गत साउन ९ गते वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणमा डा. प्रमोद रामसहित केही स्वास्थ्यकर्मी घाइते भएका थिए। घटनामा अस्पतालमा समेत तोडफोड भएको थियो।