ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक
वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा लिखित ऐतिहासिक उपन्यास ‘बखान’ को दोस्रो संस्करण सार्वजनिक गरिएको छ। शिखा बुक्स प्रालिले प्रकाशनमा ल्याएको पुस्तकको विमोचन मंगलबार स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ, साहित्यकार जयदेव भट्टराई, मेनका चापागाईँलगायतले संयुक्त रूपमा गरेका हुन्।
कार्यक्रममा शिखा प्रकाशनका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले ‘बखान’ पाठकमाझ अत्यधिक रुचाइएको कृतिमध्ये एक बनेको बताउँदै स्वदेश तथा विदेशमा रहेका नेपाली भाषी पाठकबाट पुस्तकको उच्च माग रहेकाले दोस्रो संस्करण प्रकाशन गरिएको जानकारी दिए।
उपन्यासमा चितवनको इतिहास, २००७ सालको बन्दीपुर क्रान्ति र २०१८ सालको भरतपुर क्रान्तिलाई तथ्यपरक तथा साहित्यिक शैलीमा प्रस्तुत गरिएको छ। साथै नेपालका पहिलो सहकारी अभियन्ता तथा समाजसेवी बखानसिंह गुरुङको जीवनसंघर्षलाई केन्द्रमा राख्दै चितवनको सामाजिक, राजनीतिक, सांस्कृतिक तथा ऐतिहासिक रूपान्तरणलाई जीवन्त रूपमा चित्रण गरिएको छ। पुस्तकले विभिन्न राजनीतिक आन्दोलन, बस्ती विकास र जैविक विविधता संरक्षणका विषयलाई समेत समेटेको छ।
लेखक वसन्त पराजुलीले ‘बखान’ प्रति पाठकले देखाएको माया र विश्वासकै कारण दोस्रो संस्करण प्रकाशन हुन सकेको भन्दै सबै पाठकप्रति आभार व्यक्त गरे। पत्रकारितासँगै साहित्य सिर्जनामा सक्रिय पराजुलीका ‘कुमाता’, ‘मोम्चो’ र ‘ड्रिमी आइज’ यसअघि प्रकाशित भइसकेका छन् भने ‘बखान’ उनको चर्चित ऐतिहासिक उपन्यासका रूपमा स्थापित भएको छ।