गेटामा एमबीबीएस सुरु नभए अनशन बस्छु : मेयर हमाल
धनगढी — धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा) मा यसै शैक्षिक सत्रदेखि एमबीबीएस कार्यक्रम सञ्चालन नभए आफू अनशन बस्ने चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै हमालले सरकार र डा. गोविन्द केसी पक्षबीच गेटा विश्वविद्यालय सञ्चालनबारे भइरहेको छलफलका क्रममा पदाधिकारी नियुक्तिभन्दा विद्यार्थी भर्ना र पठनपाठनलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
उनले गेटा विश्वविद्यालय सुदूरपश्चिमको स्वास्थ्य र शैक्षिक विकाससँग जोडिएको महत्त्वपूर्ण परियोजना भएको भन्दै यसै वर्षदेखि एमबीबीएस अध्ययन सुरु गर्नुपर्ने माग राखेका छन्।
“पदाधिकारी को बन्छ भन्ने बहसभन्दा विश्वविद्यालयमा पढाइ सुरु हुनु मुख्य विषय हो,” हमालले भनेका छन्। एमबीबीएस कार्यक्रम सञ्चालन सुनिश्चित नभए आन्दोलनको अग्रपंक्तिमा उभिने र आवश्यक परे अनशन बस्ने उनले चेतावनी दिएका छन्।
मेयर हमालले गेटा विश्वविद्यालय सञ्चालनका लागि राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणलाई साझा दबाब सिर्जना गर्न समेत आग्रह गरेका छन्।