नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबारदेखि सञ्चालनमा आउँदै
काठमाडौँ र धादिङ जोड्ने नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबार उद्घाटन हुँदैछ। करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको यो सुरुङ शिलान्यास भएको ७ वर्षपछि सञ्चालनमा आउन लागेको हो।
जापानको हाज्मा आन्दो कर्पोरेसनले निर्माण गरेको २.६८ किलोमिटर लामो मुख्य सुरुङ र २.५५७ किलोमिटर आपतकालीन सुरुङ रहेको आयोजनामा कोभिड–१९ र मुआब्जा विवादका कारण ढिलाइ भएको थियो।
सुरुआतमा आपतकालीन प्रयोजनका सवारीलाई मात्र प्रवेश दिइनेछ भने पछि चरणबद्ध रूपमा अन्य सवारी सञ्चालन गरिनेछ। दुईपांग्रे, पैदलयात्री तथा पेट्रोल–डिजेलजस्ता प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई सुरुङ प्रयोग गर्न अनुमति हुने छैन।